Tuesday, March 27, 2007

संविधानसभा

संविधानसभा

संविधानसभा गठन

-१) नेपाली जनता आफैंले नयाँ संविधान निर्माण गर्न यस संविधानको अधीनमा रही एक संविधानसभा गठन हुनेछ ।

यो संविधान प्रारम्भ भएपछि संविधानसभा निर्वाचन नेपाल सरकारले तोकेको मितिमा हुनेछ ।

संविधानसभामा कानुनमा व्यवस्था भएबमोजिम मिश्रति निर्वाचन प्रणालीका आधारमा निर्वाचित ४०९ जना र मनोनित १६ जना गरी देहायबमोजिमका ४२५ जना सदस्यहरू रहनेछन् ः

-२) यो संविधान प्रारम्भ हुनु अगाडि प्रचलित कानुनबमोजिम कायम रहेको निर्वाचन क्षेत्रहरूबाट प्रत्येक निर्वाचन क्षेत्रबाट एकजनाका दरले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित २०५ सदस्य,

-३) सम्पूर्ण देशलाई एक क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुने २०४ सदस्य,

-ग) राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिहरूमध्येबाट सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषद्बाट मनोनित हुने १६ जना सदस्य ।

-४) उपधारा -३) को खण्ड -क) बमोजिम राजनीतिक दलहरूले उम्मेदवार चयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्नेछ र खण्ड -ख) बमोजिम राजनीतिक दलहरूले उम्मेदवारहरूको सूचीकृत गर्दा महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेसीलगायत अन्य वर्गसमेतको कानुनमा व्यवस्था भएबमोजिम समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ ।

यस उपधारामा जुनसुकै कुरा लेखिएको भए पनि महिलाको हकमा उपधारा -३) को खण्ड -ख) बमोजिम समानुपातिक प्रतिनिधित्वमा हुने संख्यामा उपधारा -३) को खण्ड -क) अनुसार दिइने उम्मेदवारीको कुल संख्या जोडेर न्यूनतम एक तिहाई उम्मेदवारी दिनुपर्नेछ ।

-५) संविधानसभाका सदस्यहरूको निर्वाचन कानुनमा व्यवस्था भएबमोजिम गोप्य मतदानद्वारा हुनेछ ।

-६) संविधानसभाको निर्वाचनको प्रयोजनको लागि संवत् २०६३ साल मंसिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम मतदान गर्ने अधिकार हुनेछ ।

-७) यस धारामा लेखिएको कुराहरूको अधिनमा रही संविधानसभाको निर्वाचन र सोसम्बन्धी अन्य कुरा कानुनमा व्यवस्था भएबमोजिम हुनेछ ।

संविधानसभाको कार्यकालः संविधानसभाले प्रस्ताव पारित गरी अगावै विघटन गरेकोमा बाहेक संविधानसभाको कार्यकाल संविधानसभाको पहिलो बैठक बसेको मितिले दुई वर्षको हुनेछ ।

तर मुलुकमा संकटकालीन स्थितिको घोषणा भएको कारणले संविधान निर्माण गर्ने काम पूरा हुन नसके संविधानसभाले प्रस्ताव पारित गरी संविधानसभाको कार्यकाल थप छ महिनासम्म बढाउन सक्नेछ ।

सदस्यको योग्यताः संविधानसभाको सदस्य हुनका लागि कुनै पनि व्यक्तिले देहायका योग्यता पूरा गरेको हुनुपर्नेछः

-क) नेपाली नागरिक,

-ख) कम्तीमा पच्चीस वर्ष उमेर पूरा गरेको,

-ग) नैतिक पतन देखिने फौज्दारी कसुरमा सजाय नपाएको,

-घ) कुनै लाभको पद धारण नगरेको ।

सदस्यको अयोग्यतासम्बन्धी प्रश्नको निर्णयः संविधानसभाका कुनै सदस्य धारा ६५ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय संविधानसभा अदालतले गर्नेछ ।

सदस्यको स्थानको रिक्तताः संविधान सभाका सदस्यको स्थान देहायको अवस्थामा रिक्त भएको मानिनेछः

-क) निजले लिखित राजीनामा दिएमा,

-ख) धारा ६५ बमोजिम निजको योग्यता नभएमा वा नरहेमा,

-ग) सभालाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा,

-घ) जुन राजनीतिक दलको सदस्य भई निर्वाचित भएको हो सोही दलले कानुनमा व्यवस्था भएबमोजिम निजले दल त्याग गरेको वा दलको सदस्यता कायम नरहेको कुरा सूचित गरेमा,

-ङ) निजको मृत्यु भएमा ।

स्पष्टीकरणः खण्ड -घ) को व्यवस्था संविधानसभाका अध्यक्ष वा उपाध्यक्षको हकमा लागू हुनेछैन ।

सदस्यको शपथः संविधानसभाका प्रत्येक सदस्यले संविधानसभा वा यसको कुनै समितिमा पहिलोपटक भाग लिनु अघि कानुनमा व्यवस्था भएबमोजिम शपथ लिनुपर्नेछ ।

संविधानसभा बैठकः -१) संविधानसभाका सदस्यहरूको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको एक्काइस दिनभित्र प्रधानमन्त्रीले आह्वान गरेबमोजिम संविधानसभाको पहिलो बैठक बस्नेछ र त्यसपछिका बैठक संविधानसभाको अध्यक्षता गर्ने व्यक्तिले तोकेको मिति र स्थानमा बस्नेछ ।

उपधारा -१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानसभाका कम्तीमा एक चौथाई सदस्यले संविधानसभाको बैठक बोलाउन आवश्यक छ भनी कारणसहित संविधानसभाका अध्यक्षसमक्ष निवेदन गरेमा अध्यक्षले पन्ध्र दिनभित्र संविधानसभाको बैठक बोलाउनुपर्नेछ ।

संविधानको विधेयक पारित गर्ने विधिः

-१) संविधानसभाले संविधानको विधेयक पारित गर्दा संविधानसभामा पेस भएको त्यस्तो विधेयकको प्रस्तावना तथा प्रत्येक धारामा मतदान गरी पारित गर्नेछ ।

उपधारा -१) बमोजिम मतदान गर्दा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको कम्तीमा दुई तिहाई सदस्य उपस्थित भएको बैठकको सर्वसम्मतिबाट पारित गर्नुपर्नेछ ।

उपधारा -२) बमोजिम संविधानको विधेयकको प्रस्तावना वा त्यसको कुनै धाराका सम्बन्धमा सर्वसम्मत कायम हुन नसकेमा सो विषयमा सर्वसम्मति कायम गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेताले आपसमा परामर्श गर्नेछन् ।

उपधारा -३) बमोजिम परामर्श गर्ने काम सर्वसम्मति कायम हुन नसकेको मितिले बढीमा पन्ध्र दिनसम्म पूरा गरिसक्नु पर्नेछ ।

उपधारा -४) बमोजिम परामर्श भएकोमा त्यस्तो परामर्श गर्ने काम पूरा भएको सात दिनभित्र त्यस्तो विधेयकको प्रस्तावना वा कुनै धारा उपर पुनः मतदान हुनेछ ।

उपधारा -५) बमोजिम मतदान हुँदा पनि उपधारा -२) बमोजिमको सर्वसम्मत कायम हुन नसकेमा प्रस्तावना वा जुन धाराका सम्बन्धमा सर्वसम्मत कायम हुन नसकेको हो सो प्रस्तावना वा धारामा पुनः मतदान हुनेछ र त्यस्तो मतदानमा संविधानसभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यको कम्तीमा दुई तिहाई सदस्य उपस्थित भएको बैठकको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा त्यस्तो प्रस्तावना वा धारा पारित भएको मानिनेछ ।

यस धाराको प्रयोजनका लागि संविधानसभामा पेस भएको संविधानको विधेयकको प्रस्तावना वा त्यसको कुनै धाराको सम्बन्धमा मतदान गर्दा कुनै पनि सदस्यले त्यस्तो विधेयकको प्रस्तावना वा त्यसको कुनै धाराको विपक्षमा मत नदिएमा सर्वसम्मति कायम भएको मानिनेछ ।

संविधानसभाका अध्यक्ष र उपाध्यक्षः -१) संविधानसभाले संविधान निर्माणसम्बन्धी आफ्नो कार्य प्रारम्भ गर्नु अघि आफ्ना सदस्यहरू मध्येबाट एकजना अध्यक्ष र एकजना उपाध्यक्षको निर्वाचन गर्नेछ ।

उपधारा -१) बमोजिम निर्वाचन गर्दा अध्यक्ष र उपाध्यक्ष संविधानसभामा प्रतिनिधित्व गर्ने अलग-अलग राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने सदस्य हुनुपर्नेछ ।

उपधारा -१) बमोजिम अध्यक्ष र उपाध्यक्षको निर्वाचन सम्पन्न नभएसम्म उमेरका हिसाबले संविधानसभाको सबभन्दा जेष्ठ सदस्यले संविधानसभाको अध्यक्षता गर्नेछ ।

अध्यक्ष वा उपाध्यक्षले यस संविधानबमोजिम आफ्नो कार्य सम्पादन गर्दा कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरही तटस्थ व्यक्तिको हैसियतले गर्नेछ ।

गणपूरक संख्याः यस भागमा अन्यथा लेखिएकोमा बाहेक संविधानसभाको बैठकमा सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्य उपस्थित नभएसम्म संविधानसभाको गणपूरक संख्या पुगेको मानिने छैन र कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।

सदस्यको स्थान रिक्त रहेको अवस्थामा संविधानसभाको कार्य सञ्चालनः संविधान सभाको कुनै सदस्यको स्थान रिक्त रहे पनि संविधानसभाले आफ्नो कार्य सम्पादन गर्न सक्नेछ र अयोग्यताको कारण संविधानसभाको कुनै काम कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लाग्यो भने पनि भइसकेको काम कारबाही अमान्य हुने छैन ।

मतदानः यस भागमा अन्यथा व्यवस्था भएकोमा बाहेक संविधानसभाको निर्णयको लागि प्रस्तुत जुनसुकै प्रश्न वा प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई सामान्यतया मत दिने अधिकार हुनेछैन ।

तर मत बराबर भएमा निजले आफ्नो निणर्ायक मत दिनेछ ।

No comments: